राष्ट्रिय गानको अगाडिको धुन जरुरी छैन, छातीमा हात राख्नु पनि पर्दैनः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गानको सुरुमा रहेको धुन हटाउन सरकारसँग माग गरेका छन्।

बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सयौं थुँगा फूलका हामी सुरु हुनुअघिको धुन आवश्यक नरहेकाले उक्त धुन हटाउन सरकारसँग माग राखेका हुन् ।

अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउन पनि जरुरी नरहेको पनि बताए।

‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु । राष्ट्रिय गान अगाडि जुन प्याँप्याँ धुन आउँछ नि सयौं थुँगा फूलका हामी भन्दा अगाडिको धुन, त्यो राष्ट्र गानबाट हटाउनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन । म सरकारको ध्यानाकर्षण गराउँछु ।’, उनले भने ।

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायका लागि ओबिसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताए ।

गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको ओबिसी महासङ्घको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ