चिनियाँ राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन


काठमाण्डु –  सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन्।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरे। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने समय सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित मानिएको थियो।

राष्ट्रपति सीले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण आज चीन आर्थिक संकटको सामना गरिरहेको छ। गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

उनले चिनियाँ सशस्त्र बलको कमाण्डर-इन-चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन्।

राष्ट्रपतिमा तेस्रो कार्यकाल हुने कुरा व्यापक रूपमा अपेक्षित थियो। आउँदा दिनमा नयाँ प्रधानमन्त्री र कैयौँ मन्त्रीहरूको नियुक्ति अझ महत्त्वपूर्ण रूपमा हेरिएको छ। नयाँ नियुक्ति पाउने सबैजना सी जिन्पिङका वफादार व्यक्तिहरू हुने ठानिएको छ। जसमा ली चियाङ सी जिन्पिङपछिका नेताका रूपमा रहने ठानिएको छ।

सरकारविरोधी प्रदर्शनहरू निम्त्याएको सीको शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन्।

टू सेसन्स भनिने न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ