सन्दीपको मुद्दामा आइतबार सुनुवाइ


क्रिकेटर सन्दीप लामिछानेले विदेशमा खेल्न जान दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम सुनुवाइ आइतबार हुने भएको छ । सर्वाेच्चले उनीसँग सम्बन्धित अर्काे मुद्दाको सुनुवाइ पनि आइतबार सँगै गर्ने आदेश दिएको हो । लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि सर्वोच्चमा रहेकाले यी दुवै रिटलाई आइतबार सँगै राखेर हेर्न आदेश दिएको हो । नाबालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेलाई विदेश जान रोक लगाइएको छ ।

साथै, उपत्यकाबाहिर जानसमेत प्रहरीको सहमति चाहिने सर्त तोकेको छ । त्यसविरुद्ध सन्दीपले ११ फागुनमा सर्वाेच्चमा रिट निवेदन दर्ता गरेका थिए । संयुक्त अरब इमिरेट्समा भइरहेको आइसिसी पुरुष विश्वकप डिभिजन लिग–२ प्रतियोगितामा नेपाली टोलीसँगै सहभागी हुन पाऊँ भन्दै रिट निवेदन दिएका थिए । जसमा अर्काे मुद्दासँगै संयुक्त इजलासमा सुनुवाइ गर्ने आदेश भएको हो । सर्वाेच्चका न्यायाधीश ईश्वरकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘यसरी उच्च अदालतको आदेशउपर यस अदालतको संयुक्त इजलासमा संयुक्त सुनुवाइ विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदनउपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन मागअनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन । उही एउटै मुद्दामा वादी–प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदनउपर एकैपटक सुनुवाइ हुनु आवश्यक देखिन्छ ।’

गत २८ पुसमा सन्दीपलाई उच्चले सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उनलाई थुनामै राख्नुपर्ने मागसहित सर्वाेच्चमा निवेदन दिएको छ । जसमा सुनुवाइ हुन सकेको छैन । अब उनी थुनामै बसेर मुद्दा लड्नुपर्ने वा बाहिर बसेर लड्न पाउने तथा विदेशमा खेल्न जान पाउने–नपाउने विषयमा एकैपटक फैसला आउने भएको छ । रिटलाई अदालतले अग्राधिकार दिएकाले छिट्टै फैसला आउनेछ । उनीविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन नै छ ।

अन्तिम फैसलाको प्रतीक्षामा क्यान
नेपाल क्रिकेट संघ (क्यान)ले सर्वोच्च अदालतको अन्तिम फैसलाको प्रतीक्षामा रहेको जनाएको छ । अदालतले सन्दीपलाई विदेश भ्रमण जान अनुमति दिँदा सोहीअनुसार प्रक्रिया अगाडि बढाउने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताएका छन् । ‘हामी अदालतले हुन्छ नभनेसम्म केही गर्न सक्दैनौँ, अदालतले सन्दीपलाई विदेश जान अनुमति दिए, प्रक्रिया अगाडि बढाउनुपर्छ,’ पाठकले भने ।

 

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ