सुखलाई आनन्द भनेर हामीले वर्णन गरिरहेका हुन्छौं । तर सुख भनेको दुःखको अभाव हो । जहाँ दुःख छैन, त्यहाँ सुख छ । दुःख सुखको अभाव हो । आनन्द भनेको दुःख र सुख दुवैको अभाव हो, जहाँ दुःख र सुख दुवै हुँदैन । खासगरी चित्तको परिपूर्ण शान्त स्थिति नै आनन्दको स्थिति भएको अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिंखडा बताउँछिन् ।
‘जहाँ बाहिरको कुनै पनि आन्दोलनले हामीलाई प्रभावित नगरोस्, न दुःखको, न सुखको त्यो नै आनन्द हो,’ उनी भन्छिन् ।
सुखभन्दा माथि आनन्द
संसारका सबै प्राणी आनन्द चाहन्छन् । मानिस आफैंमा आनन्दको अवतार हो । उनको यो रूप संसारको भ्रममा हराएको छ । उसले खोज्ने र प्राप्त गर्ने प्रयास गरिरहेको हुन्छ । उसको सम्पूर्ण जीवनकाल आनन्द प्राप्तिको लागि दौडधुपमा बित्ने सिंखडा बताउँछिन् ।
‘मान्छेले सुख र दुःखको बोध गर्छ, तर किन आनन्दको बोध गर्न सक्दैन ? किनभने सुख र दुःख बाहिरी हो । मान्छे बाहिरी कुरामा अल्झिएको छ । भित्र प्रवेश गर्ने फुर्सद नै छैन,’ उनी भन्छिन् ।
जब सुखबाट हटिन्छ तब आनन्दमा प्रवेश गर्न सकिन्छ । त्यो साधना होइन, सामान्य चित्तको भाव हो । ‘दुःखबाट हट्न चाहनु भनेको व्यक्तिको आकांक्षा सुख हो । जो सुखबाट हट्न चाहन्छ उसले भने आनन्दमा प्रवेश गर्न सक्छ,’ सिंखडा भन्छिन् ।
व्यक्तिले केवल आध्यात्मिक आनन्दको चाहना गर्नुपर्छ र त्यसलाई संकलन गर्ने प्रयास गर्नुपर्छ । आनन्दको स्रोत सन्तुष्टि हो, सन्तुष्टिबिना मानिसले आनन्दको अनुभूति गर्न नसक्ने उनको निष्कर्ष छ ।
आनन्दको खास स्रोत
आनन्दको मुख्य स्रोत ध्यान हो । आफ्नो मन र मस्तिष्कलाई शान्त राख्न सकियो भने आनन्द प्राप्त हुन्छ । ध्यानबाट मन र मस्तिष्कलाई शान्त पार्न सकिन्छ र जसबाट आनन्द प्राप्त हुन्छ । बाहिरी मायामोह, सुख–दुःखबाट टाढा भएर आफ्नो लागि सोच्न सक्यो भने मान्छेले आनन्द प्राप्त गर्न सक्ने सिंखडा सुझाउँछिन् ।
शरीर विज्ञानको भूमिका
सिंखडाका अनुसार मनले शरीरलाई नियन्त्रण गरिरहेको हुन्छ । हामीलाई केही कुरा खान मन लाग्यो भने शरीरलाई आवश्यकता नभए पनि खान्छौं । मन र विचारले नै हामीलाई आनन्दबाट टाढा राखिरहेको हुन्छ । जब हाम्रो मस्तिष्कमा धेरै विचार आउँछ, मनमा धेरै कुरा खेल्छ हाम्रो शरीरले पनि त्यसको प्रतिक्रिया देखाउँछ ।
‘धेरै दौडधुप, तनावले हाम्रो शरीरलाई पनि विभिन्न समस्या दिन्छ । तर जब हामीले मनमा आनन्द महसुस गर्छौं वा विचार शून्य राख्छौं हाम्रो शरीरमा पनि बेग्लैखाले स्फूर्ति आउँछ,’ सिंखडा भन्छिन् ।
आनन्द चैतन्यबाट मिल्छ
सुख र दुःख हराउन सक्छ । किनभने यी बाहिरी कुरा हुन् । बाहिरबाट आउने कुरा हुन् । कुनै व्यक्ति सुखी थियो, कुनै कारणले थियो । त्यो कारण हटाइदिएपछि उनी दुःखी हुनेछन् । बाहिरी कुराले आनन्दलाई नष्ट गर्न नसक्ने सिंखडा बताउँछिन् । ‘हटाउन वा हराउन सक्दैन । अर्थात् सुख अस्थायी हो, दुःख अस्थायी हो । आनन्द भने स्थायी हो,’ उनी भन्छिन् ।
आनन्द मनुष्यको आफ्नो चैतन्यको स्थिति हो । सुख मिल्छ, दुःख मिल्छ । आनन्द मिल्दैन । आनन्द उपस्थित छ, केवल बुझ्नुपर्छ । सुख पाउने हो, दुःख पनि पाउने हो । तर आनन्द पाउने होइन । केवल आविष्कार गर्नुपर्छ, केवल अन्वेषण गर्नुपर्छ । त्यो उपस्थित छ । सिंखडा भन्छिन्, ‘बुझ्नुहोस् कि जुन चीज पाइन्छ, त्यो हराउँछ पनि । आनन्द हराउँदैन । किनभने यो पाइने कुरा होइन । आफैंभित्र रहेको कुरा हो ।’
तपाईको प्रतिक्रिया दिनुहोस