राहदानीको सिष्टम बनाउन चिनियाँ प्राविधिक


काठमाडौं : राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरुले सफ्टवेयर प्रणालीको अनुगमन गरेपछि आईमिडिया कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो ।

हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी सहजरुपमा पाउने व्यवस्था गर्न विशेष निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाई प्रविधिमा बारम्बार देखापर्ने समस्याको बारेमा छलफल गरेपछि विशेषज्ञ टोली बोलाइएको हो ।

आईमिडिया कम्पनीको केन्द्रीय कार्यालय चीनमा रहेको छ । प्रधानमन्त्री कार्यालयका प्राविधिकहरुले चिनियाँ पक्षसँग छलफल गरेपछि चिनियाँ पक्षले समस्या समाधानका लागि भारत र मलेसियामा कार्यरत दुई जना प्राविधिकलाई नेपाल पठाउन सहमति जनाएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो । नेपाली प्राविधिकसँग छलफल गरेर शुक्रबार प्रविधिमा सुधारका लागि काम हुने पनि बताइएको छ ।

प्रविधिमा समस्या आएपछि विभागले नयाँ राहदानीका लागि आवेदन स्थगित गरेकोे छ । यसअघि आवेदन दिनेहरुले समेत राहदानी पाउन सकेका छैनन् । समयमा राहदानी नपाउँदा अध्ययन, वैदेशिक रोजगार, भ्रमण तथा औषधिउपचारका लागि जानेहरुलाई समस्या परेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ