विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य


एजेन्सी। विश्वको पहिलो उड्ने मोटरसाइकलको बुकिङ सुरु भएको छ । यो मोटरसाइकल ३० मिनेटसम्म ९६ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यो उड्ने बाइकको नाम ‘स्पीडर’ राखिएको छ । यसको प्रारम्भिक मूल्य ३.१५ करोड भारतीय रुपैयाँ राखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो । मूल डिजाइनमा चार टर्बाइनहरू थिए, तर अन्तिम उत्पादनमा आठ वटा हुनेछन्।

जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यसले अमेरिकी संघीय उड्डयन प्रशासनको प्रमाणीकरण प्राप्त गर्ने अपेक्षा गरिएको छ। आगामी २/३ वर्षमा कम्पनीको ८ जेट इन्जिन स्पिडर फ्लाइङ बाइक बजारमा आउन सक्ने उत्पादकले जनाएको छ ।

कम्पनीका अनुसार यो फ्लाइङ बाइक वास्तवमा एयर युटिलिटी भेइकल हो । अर्थात्, यसलाई मेडिकल आपतकालीन र आगो निभाउने जस्ता उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ। कम्पनीले कार्गो विमानको रूपमा सैन्य बजारका लागि मानवरहित संस्करण पनि विकास गरिरहेको छ। यो जमिनबाट १०० फिट माथि ४०० माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

गत वर्ष जापानको स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले अमेरिकामा भएको डेट्रोइट अटो शोमा फ्लाइङ बाइक ‘एक्सटुरिज्मो’ प्रदर्शन गरेको थियो । १०० किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको बाइक पेट्रोलमा चल्छ । तर, सो मोटरसाइकलको ठुलो उत्पादन भने सुरु भएको छैन । यो बाइकलाई एक पटकमा ३० देखि ४० मिनेटसम्म हावामा उडाउन सकिन्छ । ३०० केजीको बाइकले उडान गर्दा करिब १०० केजी तौल वहन गर्न सक्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ