सांसदको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधिसभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘सांसदहरुको शपथग्रहण नहुँदै सरकार गठन गर्ने नजिरजस्तो बन्न गएको छ। यो सही होइन। सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ। उचित हुन्छ। र विगतको परम्परा पनि त्यही हो भन्नेमा हाम्रो निस्कर्ष छ।

म सम्बन्धित सबैको ध्यान यो विषयमा आकर्षित होस् र सबैभन्दा पहिलो शपथग्रहणको कार्यक्रम अगाडि बढाउने र शपथग्रहणपछि सरकार गठन र अन्य कामहरु अगाडि बढाउनु उचित हुन्छ भनेर म जानकारी गराउन चाहन्छु।’

उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ