सुदूरपश्चिम प्रदेशसभा समानुपातिकमा १७ जना महिला छानिने
धनगढी : सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट निर्वाचित हुने २१ मध्ये १७ जना महिलालाई राजनीतिक दलहरुले छनौट गर्नैपर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला निर्वाचित नभएपछि ३३ प्रतिशत महिला पु¥याउन दलहरुले महिला छनौट गर्नैपर्ने अवस्था भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् । संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनुपर्ने हुन्छ ।
निर्वाचन आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुराबाहेकका ८ जिल्लाबाट ३० प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् । ती निर्वाचित सबै पुरुष रहेका छन् ।
निर्वाचन कानुनमा सुदूरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलव ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलव ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलव ३७ प्रतिशत, पिछडिएको क्षेत्र १२ दशमलव ७८ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया दिनुहोस