चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु
चितवन – जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा दुई हजार ९४९ जनामा डेंगीको संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये दुई हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी डेंगी रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार ४५० जनामा डेंगी रोग देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगी रोग देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको संक्रमण देखिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगी रोगको संक्रमण देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस