शान्ति सम्झाैतादेखि नै माओवादी र कांग्रेसबीच गठबन्धन सुरु भएको हो : प्रचण्ड


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झाैतादेखि गठबन्धन सुरु भएको दावी गरेका छन् ।

सोमबार गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको बताएका हुन् ।

त्यसबेला देखिनै माओवादी र कांग्रेसबीचको गठबन्धन सुरु भएको उनको भनाइ छ । ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ,जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’, उनले भने ।

त्यसैगरी प्रचण्डले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् । ‘मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको हो । आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिनेछ ।’, उनले भने । प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ