एकपटक जनप्रतिनिधी भएर जनताकाे काम गर्ने रहर छ : धामी
धनगढी, २१ कार्तिक । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा क बाट बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेशसिंह धामीले आफूले चुनाव जिते निर्वाचनका बेला गरेका बाचा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । कैलारी गाउँपालिका–६, मा ओयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई एक पटक काम गर्ने अवसर दिन मतदातालाई आग्रह गरे । आफू पनि युवा भएको उल्लेख गर्दै उनले युवालाई अवसर दिनुपर्ने धारणा राखे ।
‘मलाइ विकास गर्ने हुटहुटी छ । यो पुरा गर्ने जिम्मेवारी दिनुहोस् । गुनासो गर्ने ठाउँ राख्ने छैन ।’ उनले भने, ‘म युवा, जोश जाँगर भएको मान्छे हुँ, अवसर दिए काम गरेर देखाउँछु ।’ चुनाव जिते पनि नजिते पनि यस क्षेत्रको विकासका लागि आफू लागिपर्ने उनको भनाइ थियो । चुनाव जित्नका लागि आफूले जनतालाई अनावश्यक आश्वासन नदिने धामीले बताए । आफूले अनावश्यक आश्वासन नबाँडेको र चुनाव जितेर गएपछि गर्न सकिने योजनामात्र अघि सारेको उनले बताए । धामीले अहिले पुनः प्रदेश सभामा दोहोरिन खोजेका एमालेका उम्मेदवारले पाँच वर्षमा यो क्षेत्रमा काम गर्न नसकेको आम गुनासो रहेको बताए । चुनाव जितेर गएपछि फर्केर नआउने प्रवृति आफूले नदेखाउने प्रतिवद्धता उनले जनाए । संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै धामीले गठबन्धनको जितले मात्र मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने दावी गरे ।
‘गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पठाउनोस्, यहाँको विकास गर्ने जिम्मा हामी लिन्छौँ ।’ धामीले भने, ‘जनताले दिएको मत खेर नजाने गरी काम गर्छौँ ।’ एमालेले मुलुकलाई निरंकुशतातिर लैजान खोजेकाले त्यसका विरुद्ध काँग्रेस, माओवादी र समाजवादी लगायत दलहरु एक ठाउँमा उभिएका उनले बताए । दुई÷दुई पटक संसद विघठन किन गरेको भनेर एमालेलाई सोध्न पनि उनले मतदातालाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस