बझाङमा अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु
बझाङ। बझाङको थलारा गाउँपालिकाकामा ७ वर्षीय बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। बझाङको थलारा गाउँपालिका ८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।
भाइटिका मान्न डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै गएका बालकलाई मंगलबार दिउँसो ३:३० बजेको समयमा मामाघर नजिकै अरिङ्गालले टोकेको थियो।अरिङ्गालले टोकेपछि घाईते भएका बालकलाई उपचारका लागि स्वास्थ्य संस्थामा उपचारपछि (मामा) घर फर्काइएको उनका आफन्तले बताए।
बिहान ५ बजेतिर मामाघरमै मृत्यु भएको थलारा गाउँपालिका-८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिए। मृतक बालकलाई धेरै अरिङ्गालले टोकेको थियो, यस्तै बालकसँगै अन्य त्यहीँका दुई बालक र एक महिलालाई अरिङ्गालले टोकेको जनाइएको छ। अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने जनाइएको छ। बालक थलारा गाउँपालिका-८ बिस्खेत स्थिति कालिका प्राथमिक विद्यालयमा कक्षा २ मा अध्यनरत थिए।
तपाईको प्रतिक्रिया दिनुहोस