तीन सहकर्मी तीनतिर : शान्ता, मेटमणी र गंगामध्ये कसले गर्लान संसदको यात्रा ?
काठमाण्डु – दाङ क्षेत्र नम्बर १ मा तीन पूर्वसहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट मेटमणी चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी चुनावी मैदानमा उत्रिएका हुन् ।
मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनमा भिड्न लागेका यी तीन उम्मेदवार नेकपा एमालेका पूर्व सहकर्मी हुन्।थारु समुदायबाटै प्रतिनिधित्व हुने गरी आफ्नै तीन पूर्व सहकर्मीहरु मैदानमा उत्रँदा एकले अर्कोलाई हराउनु पर्नेछ ।अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाट चुनावी अभियानमा रहेका उनीहरु यसपटक भने एकले अर्कोलाई हराउन मैदानमा उत्रिएका छन् ।
त्यसैले पनि अहिले क्षेत्र नम्बर १ मा चुनावी रौनक बढेको छ । उनीहरुमध्ये कसले बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका मेटमणीलाई माओवादी, कांग्रेस र जनमोर्चालगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता एक्लै प्रतिस्पर्धामा उत्रिएकी छन् ।
गंगा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा छिन्। पार्टीगत रुपमा हेर्ने हो भने संगठन बलियो भएको एमालेकी शान्तालाई चुनाव जित्न कठिन नहुने देखिन्छ । नेकपा एस र नेपाली पार्टीको संगठन कमजोर छ ।
जसले गर्दा मेटमणि र गंगालाई चुनावी जित्न सहज देखिँदैन । तर क्षेत्र नं १ मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो । उनी अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मेटमणि पनि कमजोर देखिँदैनन्। साथै उनलाई गठबन्धन दलहरुको साथ छ । काँग्रेसको बलियो पकेट भएको क्षेत्र भएकाले पनि उनलाई चुनाव जित्न थप सहज हुने आँकलन गरिएको छ ।
यता शान्ता क्षेत्र नम्बर १ का लागि नयाँ पनि हुन् । उनको निर्वाचन क्षेत्र नं.२ हो । यही कारण गंगाले शान्तालाई टुरिष्ट उम्मेदवारलाई टिकट दिएको भन्दै आरोपसमेत लगाउँदै आएकी छिन् । हाल गंगाको पनि यो निर्वाचन क्षेत्र हो । उसो त दाङ र देउखुरीबीच विगतदेखि नै भुगोलको केही मतभेद रहँदै आएको छ ।
देउखुरी क्षेत्रले आफ्नै भूगोलको उम्मेदवार खोजेमा शान्तालाई अप्ठ्यारो पर्न सक्ने नेताहरु बताउँछन् । तर मेटमणिलाई पनि चुनाव भनेजस्तो सजिलो छैन । उनको यस क्षेत्रमा संगठन कमजोर छ र जसका कारण नेकपा एसले स्थानीय तहको निर्वाचनमा भनेको जस्तो उपलब्धि हासिल गर्न सकेन । देउखुरी क्षेत्रमा नेकपा एसले १ जना वडाध्यक्ष र केही वडा सदस्यहरु जितेर १४५९ मत मात्र ल्याएको थियो ।
गंगा भने संगठन नै नभएको नयाँ दलबाट निर्वाचनमा उठेकाले निर्वाचन जित्ने सम्भावना निकै न्यून छ । तर गंगा पनि पूर्व एमाले र चौधरी समुदायको भएकाले मेटमणी र शान्ताको मत काट्न सक्ने आँकलन छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा कांग्रेस र माओवादी बलियो देखिन्छ । यहाँ माओवादी र कांग्रेसले २–२ वटा पालिका जितेका छन्। एमालले कुनै पनि पालिका जितेको छैन ।
लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह रहेको यस क्षेत्रमा स्थानीय तहको मतलाई आधार मान्ने हो भने यहाँ एमाले कमजोर देखिन्छ । त्यहाँ पार्टी विभाजन भएका कारण अहिले शून्यमा झरेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनअनुसार चार वटा पालिकामा गरी गठबन्धनका दलका प्रमुख पदका उम्मेदवारले ५० हजार बढी मत ल्याएका थिए ।
एमालेका प्रमुख पदका उम्मेदवारले २० हजार बढी मत ल्याएका थिए । यो हिसाबले गठबन्धनका दल र एमालेबीच करिब ३० हजार मतान्तर देखिन्छ । यो अंक गणितअनुसार मेटमणि सुरक्षित देखिन्छन् । शान्ताले कांग्रेसभित्रको असन्तुष्ट र दलमा आवद्ध नभएकाहरुको मत तान्न सकिन् भने जितको सम्भावना केही बढ्न सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस