रवीन्द्र मिश्रलाई राप्रपामा टिक्न कति सहज ?


काठमाण्डु – सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका रवीन्द्र मिश्रले उक्त पार्टीको प्रमुख पद स्थानीय तहको निर्वाचन सकिएलगत्तै त्यागेका थिए ।

पार्टीले स्थानीय निर्वाचनमा सोचेजस्तो जित हासिल गर्न नसकेपछि विवेकशील साझाको अध्यक्ष पद त्यागेर उनले आफूले नैतिकताको उदाहरण दिएको सन्देश दिन खोजे । तर, वास्तवमा उनी विवेकशील छाडेर अर्को पार्टी प्रवेशको तयारीमा थिए ।

नभन्दै मिश्र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । उनी वरिष्ठ उपाध्यक्षको पद लिएर बुधबार राप्रपामा प्रवेश गर्ने निश्चित भएको छ । त्यसअघि उनले चर्चामा आउने केही कार्यहरु पनि गरे ।

विचारभन्दा माथि देश शिर्षकको पुस्तक प्रकाशित गरे । गणतन्त्रको विरोधमा पनि बोले, जुन उनले विगतमा बोलेका थिएनन् । मिश्रले ‘खान पुगोस् दिन पुगोस्’ अभियान नै चलाए । जसमा करोडौं संकलन भयो ।

सामाजिक गतिविधि हुँदै राजनीतिमा लाग्दा उनले व्यापक चर्चा कमाएका थिए । तर, काठमाण्डु–१ मा प्रकाशमान सिंहबाट ०७४ को चुनावमा पराजित भएपछि मिश्रलाई धक्का लाग्यो । उनको दलभित्र विवाद चुलियो । त्यसपछि उनले डुब्नबाट जोगिन राप्रपाको डुंगा समात्ने निर्णय लिए ।

मिश्र आक्रामक अभिव्यक्ति दिन्छन् । तर, उनीसँग बलियो टिम छैनन् । त्यसैले राप्रपा प्रवेश गर्नै लाग्दा पनि सामाजिक सञ्जालमार्फत ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’ भन्दै कार्यकर्तालाई राप्रपा प्रवेशको निम्तो दिए ।

उनी एक्लै अगाडि बढ्न खोज्छन् र चर्चा बटुलिरहन्छन् । तर, उनको एजेन्डाप्रतिको प्रतिवद्धतामा धेरैले विश्वास गर्दैनन् । जुन एजेन्डाका साथ मिश्रले साझा पार्टीको सुरुवात गरेका थिए त्यो छाडेर फरक एजेन्डा समातिसकेका छन् ।

राप्रपा प्रवेश गरेपनि मिश्रलाई पुराना पञ्चहरुको प्रभाव भएको दलमा टिक्न सजिलो छैन । उनी नीति सिद्धान्तमा केन्द्रित हुनेभन्दा छरिन तर्फ लागेका छन् । यसकारण मिश्र कुनैपनि बेला विचलित भई त्यहाँबाट पनि निस्कन सक्छन् । जसले उनको राजनीति करियरमा धक्का दिन सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ