देशभर पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी २ सय ३ जनाको मृत्यु


काठमाण्डौं : देशभर पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी २ सय ३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

२०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो अवधिमा रेकर्डमा आएका १ हजार ७ सय ९ वटा विपद्का घटनामा परी २ सय ३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार यस वर्ष विपद्का घटनाबाट २ हजार १ सय ८५ परिवार प्रभावित भएको बताएको छ ।

त्यस्तै उक्त अवधीमा प्राधिकरणका अनुसार विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना ८ सय ३३ वटा  भएका थिए । यस्तै पहिरोका २ सय २८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारी वर्षाका १ सय ६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १ सय २८ र वन डढेलोका ५३ घटना यस वर्ष रेकर्ड भएकोे जनाएको छ ।

त्यस्तै यस वर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ । प्राधिकरणका अनुसार यस वर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ । यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणलेबताउको छ ।

यस्तै उक्त अवधीमा पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् । पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४ सय ३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ ।

सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको  प्रधीकरणको भनाई छ  ।

प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारी वर्षाबाट २ करोड ५ लाख ७० हजार १ सय ७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको बताएको  छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ