यी नेताका लागि अन्तिम हुन सक्छ ०७९ को निर्वाचन
काठमाण्डु – नेपाली राजनीतिको केन्द्रमा रहेका केहि शीर्ष नेताहरुका लागि योपटकको निर्वाचन अन्तिम हुने देखिएको छ । राजनीतिक दल र स्वतन्त्रहरुबाट युवा उमेरकाहरु जर्बजस्त अगाडि बढेकाले ७० कटेका नेताहरु सन्यासतिर लाग्नुपर्ने दबाबमा छन् ।
उमेर, स्वास्थ्य, प्रविधिसँगै नयाँ पुस्ताको चुनौतीले धेरै नेताहरुले २०७९ को प्रतिनिधिसभा चुनाव आफ्ना लागि अन्तिम भन्न थालेका छन् ।
उमेरका हिसावले प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पहमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई लगायतका लागि यो पटकको चुनाव अन्तिम हुने देखिन्छ । उनीहरु सबै लगभग ७० वर्ष कटिसकेका छन् ।
देउवा, पौडेल र ठाकुर ८० को हाराहारीमा छन् । काँग्रेसको विधानमा दुईपटक भन्दा पार्टी सभापति बन्न नपाउने उल्लेख छ । देउवा १३औं र १४औं महाधिवेशनमा सभापति निर्वाचित भइसकेका छन् । अब उनका लागि तेस्रो कार्यकाल विधानले रोकेको छ । अबको ५ वर्षमा देउवा ८० वर्ष कटिसक्छन् । पौडेल पनि ८० कट्नेछन् । यसकारण सम्भवत यो चुनाव दुवै नेताका लागि अन्तिम हुनसक्छ ।
एमाले अध्यक्ष ओली ७० वर्ष कटेका छन् । उनले विधान परिवर्तन गरेर १०औं महाधिवेशबाट पार्टी अध्यक्ष बन्न सके । तर, फेरि एमाले अध्यक्ष बन्न उनका लागि विधान परिवर्तन अनिवार्य हुन्छ । तर, पाँच वर्षपछि उनका लागि यो सम्भव नहुनेजस्तै देखिन्छ । सम्भवतः स्वास्थ्य, उमेरहद र विधानका कारण ओलीका लागि पनि यो चुनाव नै अन्तिम हुनसक्छ ।
माओवादी अध्यक्ष प्रचण्ड ७० को नजिक छन् । उनका लागि भने यो चुनाव अन्तिम नहुनसक्छ । तर, माओवादीभित्र पछिल्लो पुस्ताका वर्षमान पुन, जर्नादन शर्माजस्ता हस्तीले प्रचण्डलाई चुनौती दिन थालिसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । उनका लागि पनि यो चुनाव अन्तिम हुनसक्छ ।
एसकै सम्मानित नेता झलनाथ खनाल पनि ७० कटिसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले त यो चुनावलाई अन्तिम चुनाव भनिसकेका छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि ७० को नजिक छन् । उनले पनि यो चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रुपमा लिएका छन् ।
लोसपा अध्यक्ष ठाकुर ८० पुगेका छन् । उनका लागि यो चुनाव सम्भवतः अन्तिम हुनसक्छ । ठाकुर यो पटक नै प्रत्यक्षतर्फ चुनावमा भाग लिने नलिने निश्चित छैन । काँग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला र कृष्णप्रसाद सिटौला पनि ७० कटेका छन् । उनीहरु अझै पनि कम्तिमा २ वटा चुनावमा भाग लिने गरी सक्रिय देखिन्छन् ।
तर, योपटकको चुनावपछि नेपालको राजनीतिमा प्रतिनिधिसभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण कि धेरै पाका शीर्ष नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस