कैलाली–५ मा माओवादी केन्द्रले सिफारिस गर्याे उम्मेदवार


धनगढी । नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीले कैलाली क्षेत्र नं. ५ बाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । (माओवादी केन्द्र)को उपमहानगर कमिटीको बिहीबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ तिलकबहादुर सिंहको नाम सर्वसम्मत सिफारिस गरी पार्टीको जिल्ला समन्वय समितिमा पठाइएकोे नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीका अध्यक्ष डबलबहादुर खाती ‘सुरज’ले जानकारी दिए । उनका अनुसार प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ केशवराज जोशी,देवीलाल भण्डारी,रमेशकुमार बस्नेत गरी ३ जनाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य तथा यूवा नेता रमेशसिंह धामीलाई सर्वसम्मत सिफारिस गरिएको अध्यक्ष खातीले जानकारी दिए । धामी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा झिनो मतान्तरले पराजित भएका थिए । त्यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ गोविन्द विक,बसन्त बागचन्द र टीकाराम सापकोटाको नाम सिफारिस गरिएको जनाइएको छ । त्यस्तै प्रदेशसभा (क) बाट समानुपातिकतर्फ ७ जना र प्रदेशसभा (ख)बाट ९ जनाको नाम सिफारिस गरिएको अध्यक्ष खातीले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ