पाँच वर्षमा माओवादी कर्णालीका सबै सांसद मन्त्री, पालो पुर्‍याउन दुईले दिए राजीनामा


काठमाण्डु-  कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनामा बुझाएका हुन् ।  कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन उनीहरूलाई राजीनामा दिन लगाएको हो ।  राजीनामा पत्र बुझेलगत्तै मुख्यमन्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् ।

माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्ने जनाइएको छ । यो सँगै पाँच वर्षमा प्रदेश सरकारमा रहेका माओवादीका सबै ११ सदस्य मन्त्री हुने भएका छन् ।  नौ जना मन्त्री भइसकेका र बाँकी दुई जना पनि सोमबार दुई महिनाका लागि मन्त्री नियुक्त हुने भएका हुन् ।

माओवादीका एक नेताले पालो पुर्‍याउन मन्त्री हेरफेर गरिएको बताए । ‘मन्त्री बन्न अब दुई जना माननीय मात्रै बाँकी हुनुहुन्छ । सबै सांसदलाई मन्त्री बन्ने पालो दिनुपर्छ भन्ने पार्टीको नीतिअनुसार मन्त्रीहरूलाई फिर्ता बोलाएको हो,’  उनले भने । कर्णाली प्रदेश सरकार गठनको पाँच वर्ष पुग्नै लाग्दा माओवादी केन्द्रका सबै सांसद मन्त्री बनेका छन् ।

सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभामा माओवादी केन्द्रका १३  सांसद थिए । दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट मन्त्री पद नपाएकै कारण एमालेतिर लागेपछि प्रदेशसभामा माओवादी सांसदको संख्या ११ मा झरेको थियो । 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ