प्रदेश राजधानी कैलाली क्षेत्र नम्बर ४ मा चुनाबी अंक गणितमा दलहरु ( बिगतको मत परिणाम सहित )


प्रदेश राजधानी कैलाली क्षेत्र नम्बर ४ मा चुनाबी अंक गणितमा दलहरु (बिगतको मत परिणाम सहित )

अत्तरिया –आगामी संसदीय निर्वाचनको सरगर्मी कैलालीको क्षेत्र नम्बर ४ मा पनि बढेको छ । स्थानिय स्तरमा चुनावको चियो चर्चा शुरु भएको छ । सुदुरपश्चिम कै मुख्य नेताहरुको निर्बाचन क्षेत्रमा यो निर्बाचन क्षेत्र पर्ने गरेको छ । एमालेका सचिब लेखराज भट्टको निर्बाचन क्षेत्र भएकाले पनि यसको चासो बढि नै हुने गरेको छ । यो क्षेत्रमा नेकपा एमाले र काँग्रेस को संगठन उस्तै उस्तै नै छ ।

गत स्थानिय निर्बाचनमा गोदावरीमा काँग्रेसले मेयरमा जितेको थियो भने उपमेयरमा एमालेले जितेको थियो । निर्बाचन क्षेत्रमा मै  पर्ने गौरीगंगामा गठबन्धनको तर्फबाट मेयरमा माओबादीले जितेको थियो भने उपमेयरमा काँग्रेसले जितेको थियो । यस्तै चुरेमा नेकपा एमालेले अध्यक्ष जितेको थियो भने काँग्रेसले उपाध्यक्ष जितेको थियो ।

यस्तै गोदावरी नगरपालिकामा वडाहरुमा काँग्रेसले ८ वटा वडा, नेकपा एमालेले ४ वटा वडा जितेको थियो । एउटा वडा भने स्वतन्त्रले जितेको थियो । गौरीगंगामा ६ वडा काँग्रेसले , ४ वडा माओबादी , १ वडा समाजबादीले जितेको थियो । चुरेमा २ वडा काँग्रेसले र ४ वडा एमाले ले जितेको थियो ।

स्थानिय तहमा तीन वटै पालिकामा गठबन्धनबाट प्रमुखका उम्मेदवारले पाएको मत ३२ हजार ५ सय ७७ रहेको छ । एमालेका प्रमुखका उम्मेदवारले पाएको मत २१ हजार १ सय ६१ हो । दुबै तर्फको अन्तर झण्डै ११ हजार ४१६ हुन आउँछ ।

२०७४ को निर्बाचनमा यस क्षेत्रबाट बाम गठबन्धनको तर्फबाट माओबादीबाट लेखराज भट्ट बिजयी भएका थिए । उनले ३१ हजार ३ सय ५९ मत ल्याएका थिए । यस्तै काँग्रेसका उम्मेदवार सुनिल कुमार भन्डारीले २० हजार ९ सय ६० मत पाएका थिए । दुबैको मतान्तर भने १० हजार ३ सय ९९ रहेको थियो ।

अहिले भट्ट माओबादी छोडेर एमालेमा छन । एमालेबाट संघ मा उनको उम्मेदवारी नै हुने चर्चा चलेको छ । काँग्रेसबाट फेरी पनि सुनिल कुमार भण्डारीले नै टिकट पाउने बलियो सम्भाबना रहेको छ । भण्डारीको बिकल्प यस क्षेत्रमा काँग्रेस भित्र नरहेको काँग्रेसका स्थानिय नेताहरुले बताएका छन ।
गठबन्धन हुँदा सकस 

केन्द्रमा काँग्रेस माओबादी समाजबादी लगाएतले गठबन्धन गरेर नै आगामी संसदीय निर्वाचनमा जाने घोषणा गरीसकेका छन । यँहा पनि गठबन्धन नै हुने नेताहरुको भनाई रहेको छ । यो क्षेत्र समाजबादीका नेता दिर्घ सोडारीको क्षेत्र पनि हो । समाजबादी भित्र उनी यस क्षेत्रका मुख्य नेता हुन ।

कैलालीका ५ निर्बाचन क्षेत्र मध्य कम्तीमा १ समाजबादीले पाए त्यो यही क्षेत्र हुने स्थानियको बुझाई रहेको छ । तर समाजबादीको यस क्षेत्रमा पक्कड भने कमजोर छ । क्षेत्र नम्बर ४ को प्रदेश ‘क’ मा सोडारीको प्रभाब रहे पनि प्रदेश ‘ख’ मा भने समाजबादी निकै  कमजोर रहेको छ ।

समाजबादीले गठबन्धनको तर्फबाट यँहा टिकट पाए काँग्रेसले झण्डै २० हजार बढी मत समाजबादीलाई दिनुपर्ने हुन सक्छ । जुन कुरा असम्भब नै रहेको काँग्रेसका एक नेताले बताए ।

उनका अनुसार काँग्रेसको यो क्षेत्रमा आफ्नै संगठन राम्रो छ, काँग्रेसलाई थोरै मत भए नि पुग्छ तर अन्य दलले टिकट पाए काँग्रेसको ठुलो मत चाहिन्छ, त्यसको ग्यारिन्टी कसैले गर्न सक्दैन । सकभर काँग्रेस कै नेत्रित्वमा गठबन्धन हुनुपर्ने यँहाका काँग्रेस नेताहरुको भनाई रहेको छ ।
एमालेको दाउँ  

नेकपा एमाले गठबन्धन भएपनी यँहा एक्लै चुनाव लडने पक्का पक्की नै छ । एमालेबाट संघको चुनावमा पहिलो दाबेदार एमाले सचिब लेखराज भट्ट नै हुन । उनि यस क्षेत्रबाट माओबादीको तर्फबाट २ पटक चुनाव जितीसकेका छन । यो निर्बाचन एमालेको तर्फबाट उनको पहिलो लडाइ हुनेछ । एमालेको संगठन यस क्षेत्रमा बलियो नै छ । पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउन सके यो निर्बाचन पनि उनका लागी फलीफाप हुन सक्ने एमाले नेताहरुको बुझाई रहेको छ ।

स्थानिय निर्बाचनमा गोदावरीमा एमाले हराउन एमाले कै केही नेताहरु सकृय रहेको भन्दै अझै पनि एमाले भित्र बिबाद कायमै रहेको छ । कार्बाही भने कसैलाई पनि गरिएको छैन । त्यसको असर पनि आगामी संसदीय निर्वाचनमा पर्न सक्ने एमाले का नेताहरुले बताउँदै आएका छन । गठबन्धनबाट कुन दलका कुन उम्मेदवारले टिकट पाउँछन् त्यसमा नै एमालेको जित को फैसला हुन सक्ने एमालेका एक नेताले बताए ।उनले भने -‘ गठबन्धनबाट काँग्रेसले पाए कडा प्रतिष्पर्धा हुन्छ होला अन्य दलले पाए हामी सजिलै चुनाब जित्छौं।’

एमाले सचिब भट्ट पनि यो पटक चुनाव हार्ने गरि लडने मुडमा नरहेको उनि निकट स्रोतले बताएको छ । स्रोतले भन्यो -‘सबै राजनितिक घटना क्रम र चुनावमा जित्ने आधार सहित जाने कुरो हुँदैछ त्यसको तयारीमा हामी छौं ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ