नेपालमा बाघको संख्या ३५५, शुक्लाफाँटामा बाघको संख्या बढेर ३६ पुग्यो


नेपालमा बाघको संख्या ३५५,शुक्लाफाँटामा बाघको संख्या बढेर ३६ पुग्यो

धनगढी – नेपालमा बाघको संख्या ३५५ पुगेको छ । आज विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांक अनुसार बाघको संख्या ३५५ पुगेको हो । नेपालमा पछिल्लो ४ वर्षमा १२० बाघ थपिएका छन् । यससँगै बाघको संख्या ३५५ पुगेको हो । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । तथ्यांक अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । त्यहाँ १२८ वटा बाघ छन । बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, र बाँकेमा २५ वटा बाघ रहेका छन् ।

यस्तै   कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेखनीय रुपमा बढेको पाइएको छ । सन २००९ मा त्यहाँ ८ ओटा बाघ रहेकोमा अहिले त्यो संख्या बढेर ३६ पुगेको छ । आज विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको कार्यक्रममा बाघको संख्या बढेर ३६ पुगेको जानकारी दिइएको हो । विगत १३ वर्षयता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । आफूहरुले जडान गरेका क्यामेराबाट खिचिएका तस्बिरबाट बाघको संख्यामा वृद्धि भएको जानकारी पाएको निकुञ्जका अधिकृतले बताए ।

अहिले निकुञ्जमा १६ पोथी, १२ भाले रहेको तथा अन्यको लिङ्ग पहिचान नभएको निकुञ्जका अधिकृतल मनोज ऐरले बताउनु भयो । निकुञ्जमा सन् २००९ मा ८ वटा, २०१३ मा १७ ओटा, २०१८ मा १६ र २०२२ मा आएर बाघको संख्या ३६ ओटा पुगेको छ। बाघलाई चाहिने आहारा प्रजातिको घनत्व बढेको, चोरी शिकारीमा कमी र स्थानीय तथा सामुदायिक वनका पदाधिकारीहरु लगायतको सहयोगले निकुञ्जमा बाघको संख्यामा बढोत्तरी भएको संरक्षण अधिकृत ऐरले बताए । बाघको संख्यामा वृद्धि भएसँगै बाघलाई सुरक्षित राख्न विभिन्न चुनौति पनि रहेको बताइएको छ ।

निकुञ्ज नजिक बस्ने स्थानीयको वन प्रवेश बढ्दै गइरहेको अवस्थामा बाघको बासस्थान मासिँदै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृतको भनाइ रहेको छ । पछिल्लो २ वर्षमा निकुञ्जमा २ ओटा बाघ मृत फेला परेको बताइएको छ । २०१० मा विश्वभरी बाघको संख्या ३ हजार रहेको थियो । अहिले विश्वभरी बाघको संख्या ६ हजार पुगेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ