आशिफ शेखको उत्कृष्ट ब्याटिङ, नेपालको लगातार दोस्रो जित


काठमाडौं – त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा ७ चौका र १ छक्काको मद्धतमा ५७ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल १ रनमै आउट हुँदा रोहित पौडेलले १२ रन बनाए ।

शेखलाई क्रिजमा साथ दिएका दीपेन्द्रसिंह ऐरीले २१ रन, दिलिप नाथले १५ रन र कुशल मल्लले २ रन बनाए ।दिलिपकाे याे डेब्यू खेल हाे । मलेसियाका लागि पवनदिप सिंहले दुई विकेट लिँदा मुहम्मद अमिर र सियद अजिजले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । ओपनर भिरन्दीप सिंहलाई नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमै गोल्डेन डकआउट गरेपछि मलेसिया केही धर्मराएको थियो । त्यसपछि दोस्रो विकेटका लागि जुबैदी र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरेपछि मलेसिया सन्तुलनमा आयो । तर, खेलको मध्यतिर भने मलेसियाका खेलाडी क्रिजमा टिक्न सकेनन् ।

मलेसियाका लागि जुल्किफ्लेले सर्वाधक ३२ रन जोडे । त्यस्तै, कप्तान फैजले २४ रन, मुहम्मद अमिरले १६ रन तथा सियद अजिजले १४ रन बनाए ।

बलिङतर्फ नेपालका तीव्र गतिका बलर करण केसी र कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिए भने अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको थियो । मलेसियाको यो पहिलो हार हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ