प्रधानमन्त्री देउवाले गरे खानेपानी आयोजनाको उद्घाटन


पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको साेमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६०४ घरधुरीमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

आयोजना हेर्ने संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ भने मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ । साेमबार तुम्बेवा गाउँपालिका–३ मौवा बजारस्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोलेर प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।

चौधरीका अनुसार आयोजनाको हालसम्म करीब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयोजनाले खानेपानीको संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको बताए । ‘स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सहरी र गाउँहरूमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित पार्न सकिएको छैन । जसकारण धेरै समय खानेपानीको खर्च गर्नु परेको छ ।’

यस प्रकारको अवस्था अन्त्य गर्न स्थानीय स्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले चालु १५औं पञ्चवर्षीय अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण भएको क्षतिको पुनर्निर्माण तथा क्षतिपूर्तिको ब्यवस्था तथा विशेष महत्वमा आयोजनाहरूको निरन्तरता सरकार प्रतिवद्ध रहेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ