लीलामणीलाई चीनको राजदूत नबनाउन माओवादीभित्र दबाव, श्रेष्ठलाई राजदूत बनाउने तयारी
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र नेताहरुले पूर्व मुख्यसचिव लीलामणी पौडेललाई चीनको राजदूत नबनाउन दबाव दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनि निकट प्रभावशाली नेताहरुले पौडेललाई फेरी चीनको राजदूत पठाउन नहुने भन्दै दबाव बढाएका हुन् ।
उनलाई यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । पौडेल माओवादी सरकारमा सहभागि भएसंगै फेरी चीनको राजदूत बन्न लविङमा थिए । तर, चीनको राजदूतको लागि माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी र कांग्रेसले नै दावी गरेपछी नियुक्तिमा ढिलाई भएको थियो ।
चिनियां विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणअघि सरकारले चीनमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । चिनियां विदेशमन्त्री वाङ यही चैत्त (१२-१३ ) मा दुई दिने भ्रमणका लागी काठमाण्डौं आउने निश्चित भइसकेको छ । उनीसंगै चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओ समेत नेपाल भ्रमणमा आउंदैछन् ।
माओवादी अध्यक्ष दाहालले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चीनमा आफ्नो पार्टीको कोटाबाट पौडेललाई राजदूक्त नियुक्त गर्न आग्रह गरेका थिए । सुरुमा प्रधानमन्त्री देउवा उनलाई राजदूत बनाउन सकरात्मक नभएपनि अन्तिममा देउवा सहमत भएको माओवादी स्रोत बताउंछ । प्रधानमन्त्री देउवा माओवादी केन्द्रलाई चीनको राजदूत दिन समेत सहमत भइसकेका छन् । यद्यपी उनकै पार्टीका कतिपय नेताहरुले चीनको राजदूत कांग्रेसले लिनुपर्ने भन्दै उनलाई दबाव दिइरहेका छन् ।
पौडेलले केही समयअघि मात्र एमसीसी सम्झौताको बारेमा विवादित अभिव्यक्ति दिएपछी उनको सामाजिक संजालमा आलोचना भएको थियो । पछी पौडेलले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । उनि पछिल्लो समय माओवादी केन्द्रका राजनीतिक गतिविधिमा समेत सक्रिय छन् ।
पौडेलले फागुन १३ गते प्रज्ञा भवनमा आयोजित कार्यक्रममा एमसिसीको पक्षमा वकालत गर्न पैसा बांडिएको छ भन्ने विवादित अभिव्यक्ति दिनुका साथै अर्थमन्त्रालयको सचिव समेत नेपाल सरकारले सरुवा गर्न नसक्ने बताएका थिए ।
माओवादी केन्द्रले पौडेलको ठाउंमा चीनमा विष्णु पुकार श्रेष्ठलाई राजदूत बनाउने तयारी गरेको स्रोतको दावी छ । उनको नाम पठाउने विषयमा अध्यक्ष दाहालले आफु निकट नेताहरुसंग परामर्श गरेको एक माओवादी नेताले बताए । श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगको अध्यक्ष छन् । उनी यसअघि मानवअधिकारको क्षेत्रमा सक्रिय थिए ।
माओवादी केन्द्रका केही नेताहरुले परराष्ट्रमन्त्रालयका सहसचिव लोकबहादुर थापालाई समेत चीन पठाउन सुझाव दिएका छन् । उनि हाल परराष्ट्रमन्त्रालयको चीनसहित पूर्वी एसिया हेर्ने महाशाखाका प्रमुख छन् । यसअघि थापाले चीनमा समेत काम गरेका थिए ।चीनको राजदूत बन्न चीनबाट विद्यावारिधी गरेका रुपक सापकोटा,माओवादी नेता लिलामणी पोखरेल समेत लविङमा छन् ।
माओवादी स्रोतले दिएको जानकारीअनुसार चीनमा श्रेष्ठ राजदूत हुने लगभग पक्का भएको छ । सरकारले यसअघि अमेरिका,बेलायत र भारतमा राजदूत नियुक्त गरेपनि चीनमा भने खाली राखेको थियो । चीनले कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले आफ्नो मुलुकलाई महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको कूटनीतिक वृतम चर्चा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस