माओवादी बैठक बस्दै, टुंगिएला पदाधिकारी चयन ?


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आइतबारका लागि तय भएको बैठक अन्तिम समयमा पदाधिकारी चयनमा लफडा भएपछि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । सो बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल हुनुबाहेक पार्टीको कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुन सकेको छैन । आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ ।

माओवादी केन्द्रभित्र केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा सहमति जुटाउन सकस परेको छ । गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । जसमा माओवादीभित्र सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ ।नेता वर्षमान पुन र जनार्दन शर्माले सकेसम्म सर्वसम्मति र नभए निर्वाचनबाटै आफै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको नेताहरुको दाबी छ । उनीहरुका साथै महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू पनि दौडधुपमा छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ