माओवादी केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आइतबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुनेछ ।गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गर्ने भएको हो ।
पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । माओवादीको विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ ।
त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएको छैन । माओवादीमा निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ । माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस