प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । एमसीसी संसदबाट अनुमोदन गर्ने की नगर्ने विषयमा गठबन्धन दलहरुबीच विवाद बढिरहेका बेला राजदुत बेरी प्रधानमन्त्री देउवा भेट्न बुधबार साँझ बालुवाटार पुगको थिए । प्रधानमन्त्री देउवा र बेरीबीच एमसीसी परियोजनाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा देउवाले गठबन्धन दलहरुसँग छलफल गरी एमसीसीबारे निर्णायक निर्णय लिन दुई दिनको समय मागेको स्रोतको दावी छ । एमसीसीबारे गठबन्धन दलबीच मतभेद भएको र जनताहरु पनि प्रदर्शनमा उत्रिएकाले अमेरिकाले दिएको समयसीमा बढाउन राजदूत बेरीलाई प्रधानमन्त्री देउवाले अनुरोध समेत गरेका थिए ।
सत्तारुढ दलभित्रै एमसीसीलाई लिएर सहमति जुट्न नसकेपछि संकटमा परेका देउवाले सम्भावित विकल्पबारे राजदूत बेरीसँग छलफल गरेका हुन् । अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने बताइसकेको छ । त्यसैगरी अमेरिकाले एमसीसी पास नभए दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस