मन्त्रिपरिषद्को बैठक बस्दै, एमसीसी मुख्य एजेण्डा


काठमाण्डु- मन्त्रिपरिषद् बैठक बिहीबार बस्ने भएको छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । सत्तारुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने स्रातले जनाएको छ ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे छलफल भएपनि सहमति जुट्न सकेन । नेकपा माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताइसकेको छ ।

त्यसैगरी एमसीसीबारे निर्णयक छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो ।

सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन् । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांगे्रस एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन्

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाब आएपछि रोकेको थियो । सोही एमसीसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो ।

‘एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ