एमसीसीमा फेरियो सभामुखको बोली : दलहरु सहमत भए एमसीसी नरोक्ने दावी


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुन दिने संकेत गरेका छन् । राष्ट्रिय सहमति बिना एमसीसी टेबल गर्न नदिने अडानमा रहेका सापकोटाले सोमबार भने एमसीसीप्रति नरम अभिव्यक्ति दिएका हुन ।

सरकारले एमसीसी सम्झौतालाई अघि बढाउन यसअघि गरेको प्रयासलाई सभामुखले आफुसंग हुंदै नभएको अधिकार प्रयोग गरेर प्रस्ताव टेबल गर्न नदिने अडान राखेका थिए । उनको अडानपछी नेपाली कांग्रेसले महाअभियोग समेत लगाउनुपर्ने अवस्था आउन सक्ने त्यो बेला बताएको थियो ।

कतिपयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र छिमेकी मुलुक चीनको दबावमा उनले त्यसो गरेको आरोप समेत लगाएका थिए । तर, सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणालाई आइतबार सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग लगाएपछी सभामुख सापकोटाको बोली फेरीएको हो ।

माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी टेबल गर्न सहमति भएपछि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समेत प्रधान्यायाधीश विरुद्ध महाअभियोग लगाउन सहमत भएका थिए । अदालतमा मुद्दा समेत खेपिरहेका सापकोटाको विरुद्ध कुनै पनि दिन फैसला हुन सक्ने आंकलन गरिएको थियो । त्यतिमात्र होईन माधव नेपालसहित १४ जना सांसदको मुद्दा समेत अदालतमा विचराधिन थियो । यी सबै विषयलाई ध्यानमा राखेर राणामाथी महाअभियोग लगाइएको स्रोत बताउंछ ।

एमसीसीमा संसदमा टेबल गर्न दिने र त्यसलाई पारित भने निर्वाचनपछी गर्ने रणनीतिमा गठबन्धन छ । त्यसमा तिनै दल र सभामुख समेत सहमत भइसकेको स्रोत बताउंछ । सापकोटाले सांसदहरुसंगको अनौपचारिक भेटमा समेत आफु हुंदा सम्म संशोधन विना एमसीसी पास नगर्ने दावी गरिरहेका हुन्थे ।

तर,सोमबार बोलाइएको सर्वदलीय वैठकपछी संचारकर्मीहरुसंग कुराकानीमा उनले अरु दिनभन्दा फरक धारणा राखे । सापकोटाले सभामुखको भूमिका अम्पायरजस्तो भएको भन्दै दलहरु सहमत भए आफुले एमसीसी नरोक्ने बताए ।

सोमबारको सर्वदलिय बैठकमा संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो । उनले त्यसका लागी शिर्ष नेताहरुले प्रतिपक्षी दल एमालेलाई पनि सहमतिमा ल्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।उनले भने ‘म ओपन माइन्ड छु । सबैको कुरा तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु । सभामुखका हैसियतले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ । त्यो म गर्छु । ’

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ