एकाविहानै प्रचण्ड–नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटावार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेपाल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
स्रोतका अनुसार उनीहरुबीच एमसीसी, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको छ ।
एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।
एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ त्यस्तै दुई नेताबीच कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा समेत छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । कर्णाली प्रदेशमा नेकपा एसले तीन वटा मात्रै मन्त्रालय पाएपछि विवाद उत्कर्षमा पुगेको छ ।
नेकपा एसले कर्णालीमा चार वटा मन्त्रालय दावी गर्दै आएको थियो । नेकपा एसले गत वैशाख २ मा चार वटा मन्त्रालय पाउने सहमति गरेको भन्दै आपत्ति जनाइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस