बाढिले बालीमा नोक्सान गर्न थालेपछि बिमा गरेका किसान ढुक्क


कैलाली : बाढिले बालीमा नोक्सान गर्न थालेपछि बाढी बिमा गरेका किसान यसपटक ढुक्क भएका छन । बाढिले बालीमा क्षती पु¥याए पनि क्षतीपूर्ती पाउने भए पछि किसान ढुक्क भएका हुन । गत बर्ष कैलालीको खुटिया खोलामा आएको बाढीले धान बाली नष्ट गरेपछि चिन्तित भएकी सीता चौधरीले यसवर्ष ढुक्क भएको बताईन ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ मा गत वर्ष आएको बाढीले काटेको धान बाढीले नष्ट गरेको बताउदै उनले यस वर्ष सूचकाङ्कमा आधारित बाढी बिमा गरेकाले धान बालीमा क्षति भए पनि राहत पाउने भएकाले ढुक्क भएको बताईन । गत वर्ष बाढी बिमा हुन्छ भन्ने थाहा नभएको बताउदै उनले बाढी बिमा गर्ने समय तोकिएकाले ढिला गरी थाहा पाएको बताईन । यस वर्ष ४ कट्ठा धान बालीको बिमा गरेको बताउदै उनले क्षति भए राहत पाइने बताईन ।

४ कट्ठाको बाढी बिमा गर्दा १२ सय तिरेको बताउदै उनले अधिया गरेर १६ कट्ठामा धान खेती गरेको भए पनि लालपुर्जा नहुँदा बाकी धानको बिमा गर्न नसकिएको बताइन् । त्यसैगरी कृष्ण चौधरीले पनि यस वर्ष ४ कट्ठा धानको बाली बिमा गरेको बताए । गत वर्ष बाढीले धान बालीमा क्षति पु¥याए । गत वर्ष पैसा नभएर बाढी बिमा गर्न नसकेको बताउदै उनले यस वर्ष बिमा गरेको बताए । गत वर्ष पनि धानको बाढी बिमा गरेका यस क्षेत्रका किसानहरूले बाढीले पु–याएको क्षति अनुसार सहजै बिमा रकम भुक्तानी पाएको बताएका छन ।

स्थानीय राम बहादुर चौधरीले गत वर्ष बढी जोखिममा भएको २ कट्ठाको बाढी बिमा गरेको बताउदै ५ सय रुपैयाँ तिरेर बिमा गरेकोमा बाढीले पु–याएको क्षति बापत १ हजार ८ सय रुपैयाँ पाएको बताए । उक्त रकम सोझै खातामा आएको उनले बताए । १ हजार ३ सय ६० रुपैयाँ तिरेर यस वर्ष पनि बाढी बिमा गरेका उनले बिमा गर्दा जोखिम टरेको बताए । स्थानीय गुरियाँ चौधरीले पनि यस वर्ष ३ कट्ठा धान बालीको बाढी बिमा गरेको बताईन ।

अधिया र आफ्नो व्यक्तिगत गरेर ३ बिगाहामा धान खेती गरेको बताउदै उनले जोखिम बढी भएको क्षेत्रको धान बालीको बिमा गरेको बताइन् । जसको नाममा जग्गा छ त्यसको मात्रै बिमा गर्न पाइने बताउदै उनले अधिया बाहेक आफ्नो नाममा भएको जग्गाको बाढी बिमा गरेको बताईन । ३ वर्ष अघि काटेको धान सबै बाढीले डुबाएर ठुलो क्षति व्यहोरेको बताउदै उनले बिमा गरेपछि जोखिम टरेको बताइन् । १० कट्ठा धान बालीको बाढी बिमा गरेकी सीता देवी चौधरीले २६ सय २० रुपैयाँ तिरेर बिमा गरेको बताइन् ।

उनले बाढीको जोखिममा आफ्नो खेत भएकाले बिमा गरेको बताइन् । युएसए आइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत गोदावरीको खुटिया खोलाका प्रभावित क्षेत्रमा धान खेतीको बाढी बिमा गरिँदै आएको छ । स्टोनस्टेप प्राक्टिकल एक्सनको प्राविधिक सहयोगमा शिखर इन्सुरेन्सले गोदावरी नगरपालिका वडा नम्बर– ८ मा रहेको एकता प्रगतिशील सहकारीसँगको सहजिकरणमा पाइलट परियोजनाका रूपमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

उक्त कार्यक्रम अन्तरगत यस वर्ष खुटिया खोलाको तटीय क्षेत्र गोदावरी नगरपालिका वडा नम्बर ७, ८ र ९ का ८ सय ६१ जनाले बाढी बिमा गरेको सुचाङ्कमा आधारित बाढी बिमा कार्यक्रमको फोकल पर्सन लक्ष्मण बोगटीले बताए । एकता प्रगतिशील सहकारीका ऋण विभाग प्रमुख समेत रहेका उनले गत वर्ष भन्दा यस वर्ष भन्दा तेब्बर बढी किसानले बाढी बिमा गरेको उनले बताए ।

गत वर्ष २ सय ३१ किसानले ४ सय १७ कट्ठाको बाली बिमा गर्दा दुर्घटना बिमा सहित १ लाख १६ हजार ७ सय ४५ रुपैयाँ प्रिमियम उठाएर बिमा कम्पनीमा बुझाएको बताउदै उनले उक्त बिमा बापत किसानले पहिलो पटक असार १४ गते आएको बाढी बापत १० प्रतिशत र दोस्रो पटक साउन २३ गते आएको बाढी बापत १५ प्रतिशत गरेर ३ लाख ७५ हजार किसानले पाएको बताए । उनले यस वर्ष २ हजार ६ सय २० कट्ठा धान बालीको बिमा बापत ९ लाख ४३ हजार प्रिमियम सङ्कलन भएको बताए । उनले बाढी बिमा गर्ने किसानको प्रति किसान २ सय प्रिमियम सङ्कलन गरेर २ लाख बराबरको दुर्घटना बिमा पनि गरिएको जानकारी गराए ।

त्यसैगरी बाढी बिमा गरेका किसान टेकबहादुर सारुमगरले सूचकाङ्कमा आधारित बाढी बिमाबाट भुक्तानी पाउन निकै सहज भएको बताएका छन । ‘यसमा सर्जिमन मुचुल्का उठाउनु पर्ने, प्रशासन धाउनु पर्ने त्यस्तो झन्झटिलो नभएको बताउदै उनले सुचाङ्क छुने बित्तिकै एक हप्ता भित्रै सहकारीमा खोलेको खातामा आफै पैसा जम्मा हुने गरेको बताए । कहीँ जानु पनि नपर्ने र सकैलाई देखाउनु पनि नपर्ने बताउदै उनले गत वर्ष २ कट्ठाको ५ सय तिरेर बाढी बिमा गर्दा १ हजार ५० रुपैयाँ पाएको बताए । उनले यस वर्ष अझै खुटिया खोलामा बाढीको क्षतिपूर्ति पाउने सूचकाङ्क तह पार नगरेकाले बिमा रकम नपाएको बताए ।

सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रममा खुटिया खोलामा साढे ४ मिटर देखि ५ मिटर पानीको मापन भए १० प्रतिशत, ५ देखि साढे ५ मिटर पानीको मापन भए २५ प्रतिशत, साढे ५ देखि ६ मिटर पानीको मापन भए ६५ प्रतिशत र ६ देखि माथि मापन भए १ सय प्रतिशत क्षतिपूर्ति भुक्तानी गर्ने मापदण्ड तय गरिएको छ । बिमा शुल्क उत्पादन लागतका आधारमा ७ प्रतिशत कायम गरिएको छ । जसअन्तर्गत एक कट्ठामा बाली उत्पादन लागत ३ हजार ६ सय कायम गरी प्रतिकट्ठा २ सय ५२ रुपैयाँ बिमा प्रिमियम तोकिएको छ ।

बाढीको सूचकाङ्कका आधारमा बिमा दाबी भुक्तानी गरिने भएकाले किसानको खेतमा क्षति भए नभए पनि सूचकाङ्कका आधारमा किसानलाई ७ देखि १० दिन भित्रमै बिमा रकम उपलब्ध गराइँदै आएको छ । सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रम कैलालीको कर्णाली नदीको तटीय क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, खुटिया खोलाको तटीय क्षेत्र गोदावरी नगरपालिका र बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिकामा सञ्चालित रहेको स्टोनस्टेप प्राक्टिकल एक्सन फिल्ड अफिसर रवीन यादवले बताए ।

३ वर्ष देखि सञ्चालित यो कार्यक्रममा हाल किसानको आकर्षण बढ्दै गएको बताउदै उनले सहज भुक्तानी प्रक्रिया र सबै काम अनलाइनबाटै हुने भएकाले किसानहरूको यसमा आकर्षण बढी रहेको बताए । उनले पाइलट परियोजनाका रूपमा सञ्चालित परियोजना यसै वर्ष सकिने भए पनि त्यसपछि पनि किसान, इन्सुरेन्स कम्पनी, सहकारी र स्थानीय सरकारले चासो दिएमा यो निरन्तर चलिरहने बताए ।

पाइलट परियोजनाका रूपमा सञ्चालित परियोजना सकिए पनि बाढी बिमा कार्यक्रम निरन्तर चल्ने शिखर इन्सुरेन्स धनगढीका प्रमुख डिल्ली राज शर्माले बताए । उनले सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रम कुनै परियोजनाले सहयोग नगरे पनि निरन्तर रूपमा चलिरहने बताएका हुन । बाढी बिमा गर्नको लागि तोकिएको प्रिमियम उपलब्ध भएमा निरन्तर चलिरहने उनले बताए ।

अहिले दाता निकायले किसानलाई जागरूक गराउन सहयोग गरेकाले काम गर्न सहज भएको बताउदै उनले अब किसान आफै जागरूक भइसकेकाले आगामी वर्षहरूमा निरन्तर चलिरहने बताए । उनले जोखिम क्षेत्र छनोट लगायत किसानलाई जागरूक गराउन कुनै संघ संस्था, स्थानीय तहहरूले सहयोग गरेर यस कार्यक्रमलाई अन्य ठाउँमा पनि सजिलै बिस्तार गर्न सकिने बताए ।

कैलालीमा बाढी बिमा कार्यक्रममा केही सीमित क्षेत्रमा किसानहरू आकर्षित हुँदै गए पनि अन्य कृषि बिमाका कार्यक्रममा भने अझै किसान सम्म पुग्न नसकेको उनले बताए । संघ सरकारले कृषि बिमाका लागि ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकाले २० प्रतिशत प्रिमियमका लागि अनुदान दिने गरेको भए पनि किसानहरूको साखै आकर्षण नभएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम राज जोशीले बताए । उनले कैलालीमा धान बालीको बिमा गर्ने किसानको यकिन तथ्याङ्क नभए पनि सङ्ख्या एकदमै न्यून भएको बताए ।

उनले धानको बीउ उत्पादन गर्ने र व्यवसायीक खेती गर्ने केही किसानले बिमा गरे पनि यसको सङ्ख्या धेरै कम रहेको बताए । केरा खेती, पशु पालनमा किसानहरूले बिमा गर्ने गरेका भए पनि धान गहुँको भने धेरै कम किसानले बिमा गर्ने गरेको बताए । उनले सूचकाङ्कका आधारमा गरिने बाढी बिमाका बारेमा भने जानकारी नभएको बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ