मुख्य बिचौलिया बेचन झा र बादलका छोरा प्रतीक पक्राउ गर्ने डिआइजीको आकस्मिक सरुवा


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डिआइजी मनोज केसीलाई गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको छ । सामान्यतया कम्तीमा एक वर्ष अवधि पुगेपछि सँगसँगै सरुवा भएकालाई एकै लटमा सरुवा गर्ने प्रचलन रहेकामा गृहले डिआइजी मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो ।

विशेष ब्युरोकै समन्वयमा झा र थापा गत १४ असारमा पक्राउ परेका थिए । उनीहरूमाथि उच्च राजनीतिक नेतृत्वलाई तान्ने प्रयास गरिएको र त्यस क्रममा प्रहरी नेतृत्वलाई समेत ‘बाइपास’ गरेको आरोप डिआइजी केसीलाई लागेको छ । यद्यपि, प्रत्यक्ष रूपमा उनी पछिल्लो समय सो प्रकरणको अनुसन्धानमा संलग्न थिएनन् ।
स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको भूमिकालाई लिएर गृहमन्त्री रमेश लेखकले जिम्मेवारीबाट हटाएका हुन् । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो । तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ । ब्युरोमा डिआइजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

हाई प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान केसीकै नेतृत्वमा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले यस प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । जस क्रममा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाणलगायत हाई प्रोफाइल पक्राउ परेका थिए । त्यतिवेला गृह मन्त्रालयकै मिलेमतोमा सो ठगीधन्दा भएको थियो । यसमा राजनीतिक नेतृत्वसमेत जोडिएको अनुसन्धानमा खुल्यो । उच्च तहको राजनीतिक नेतृत्वबाट बिचौलियाका रूपमा बेचन झा त्यतिवेला गृह मन्त्रालय पुगेको अनुसन्धानमा खुल्यो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गरेको बयानमा सो कुरा उल्लेख छ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा हुन् । सचिव पाण्डेको बयान उल्लेख छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार खाण र पाण्डेलाई भेट्न झा कांग्रेसका उच्च तहका नेतामार्फत नै गृह मन्त्रालय गएका थिए । साथै, खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिलाई बुझाउनुपर्ने पनि बताएका थिए । यस आधारमा यो अपराधमा अरू धेरै उच्चपदस्थको संलग्नताको संकेत प्रहरीले पाएका थिए । तर, प्रहरीले उनको बारेमा विस्तृत जानकारी पाउनुअघि नै उनी भारत भाग्न सफल भएका थिए । भारतीय मूलका झाले ०६३ मा मात्र नेपाली नागरिकता लिएका हुन् । उनको भारतको पनि परिचयपत्रहरू फेला परेकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

बिचौलिया झालाई पक्राउ गरेकाले अघिल्लो सत्तागठबन्धन ढलेको आरोप लाग्दै आएको छ । त्यसलाई थप पुष्टि गर्ने गरी नयाँ सरकारले त्यसको अनुसन्धानमा संलग्न प्रहरीलाई हटाउन थालेको छ । स्रोतका अनुसार त्यसको अनुसन्धानमा संलग्न श्यामलाल ज्ञवालीलाई पनि सिआइबीबाट हटाउने तयारी छ ।

कहाँ पुग्यो अनुसन्धान ? 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये प्रतीक थापा अदालतको आदेशमा जेल चलान भइसकेका छन् । उनीविरुद्ध गत वर्ष नै मुद्दा दायर भइसकेको थियो । झालाई भने प्रतिवादी बनाइएको थियो । हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई संगठित अपराध मुद्दामा थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेको दुई सातासम्म उनले बयान नै दिन मानेका थिएनन् । उनले इन्कारी बयान दिएको प्रहरी स्रोत बताउँछ । थप प्रमाणहरू संकलनको काम भइरहेको परिसरका अधिकारी बताउँछन् । उनको मोबाइल परीक्षणका लागि पठाइएको छ । उनलाई ६० दिनसम्म प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

गत वर्ष १० जेठमा जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेसम्बन्धी मुद्दा दायर गरिएको थियो । जसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेक सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि अहिले पनि कारागारमा छन् ।

यो मुद्दाका नौ प्रतिवादी अभैm अदालतमा उपस्थित भएका छैनन् । डा. इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल अझै अदालतमा उपस्थित भएका छैनन् ।

पहिलो चरणको अनुसन्धानमा बिचौलिया झाबारे प्रहरीले अन्तिममा मात्र सूचना पाएको थियो । त्यतिवेला उनको ठेगाना प्रस्ट नहुँदा प्रहरीले प्रतिवादी बनाएको थिएन । काठमाडौंको बानेश्वरमा घर भएका उनी ठूला ठेक्कापट्टामा संलग्न थिए ।

पहिलो चरणको अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्यलगायत माथि थप अनुसन्धान गर्ने प्रहरी प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीले थप प्रमाण भेट्टाउन सकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ