कांग्रेस–एमालेको समीकरणले प्रतिगमनको खतरा: राष्ट्रिय जनमोर्चा


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कांग्रेस र एमालेको समीकरण प्रतिगमनको खतरा भएको जनाएको छ । साथै सो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस वक्तव्य जारी गर्दै नयाँ सत्ता समीकरण र सरकारबारे धारणा सार्वजनिक गर्दै ओली नेतृत्वको सरकारको कडा विरोध गर्ने जनाएका छन् ।

जनमोर्चाले सरकारले अपनाउने गलत नीति र कार्यहरूको सम्झौताहीन प्रकारले विरोध वा संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ ।

‘केपी ओली आफ्नो अविश्वसनीय तथा अधिनायकवादी चरित्रका कारण नेपालको राजनीतिमा निकै बदनाम छन् । केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्ग प्रशस्त गर्ने भन्दा दुई–दुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए’, जनमोर्चाले भनेको छ, ‘अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् । केपी ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको छ ।’ ओली प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको पनि सो पार्टीले जनाएको छ ।

‘कांग्रेस र एमालेबिच बनेको नयाँ राजनीतिक समीकरणले नेपालको राजनीतिलाई थप प्रतिगमनको दिशामा लिएर जाने खतरा देखा परेको छ’, जनमोर्चाले आठ बुँदे निर्णयमा भनिएको छ ।

दुई पार्टीबिच भएको सम्झौता गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको बृहत्तर हितमा भएको भए त्यसलाई अहिलेसम्म गोप्य राख्नुपर्ने कुनै कारण नभएको भन्दै सम्झौता गोप्य राखिएबाट गम्भीर शंका गर्ने स्थिति रहेको जनमोर्चाको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ