प्रधानमन्त्रीले आज विश्वासको मत लिदै


काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदैं छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका छन् । प्रधानमन्त्रीलाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले संसद फेस गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ । त्यस्तै जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले पनि आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भइ आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको छ ।

असार १७ गते एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको थियो । सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ । उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ