प्रधानमन्त्री दाहालले राजिनामा नदिइ विश्वासको मतको सामना गर्ने

माओवादी नयाँ गठबन्धन सरकारमा सहभागी नहुने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पदबाट राजीनामा नदिइ विश्वासको मतको सामना गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिने विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

बैठकमा धारणा राख्दै माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएका थिए । उनले आफूले विश्वासको मतको सामना गर्ने बताएका थिए ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। माओवादी पदाधिकारी बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने बैठकले निर्णय गरेको जानकारी पत्रकारहरूलाई दिए ।

माओवादीले कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ । कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्नेबारे पनि बुझ्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधन के विषयमा भन्ने जिज्ञासा राखेका थिए ।

‘पछिल्ला परिवर्तन उल्टने त होइनन् ? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन ? यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्ने कुरा भएको छ,’ पौडेलले भने ।

माओवादीले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय पनि गरेको छ । प्रतिपक्षमा बसेर आफ्ना एजेण्डा उठाइरहने बैठकले निर्णय गरेको जानकारी पौडेलले दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ